काठमाडौं । पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वास गुमाएका छन्। शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार पनि ढलेको छ। प्रचण्डले शुक्रबार (असार २८) संविधानको धारा १०० को उपधारा (२) बमोजिम पाँचौपटक विश्वासको मत मागेका थिए।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा ६३ मत मात्रै प्राप्त गरे भने विपक्षमा १९४ सांसदले मतदान गरे। विश्वासको मत प्रक्रियामा २५८ सांसद सरिक भएका थिए।
एक जनाले भने पक्ष/विपक्षमा मतदान नगरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।
गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको सहमति भएको थियो। सो समझदारीपछि असार १९ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाएको थियो।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानअनुसार ३० दिनभित्र विश्वास लिनुपर्ने संवैधानिक बाध्यता थियो। कांग्रेस र एमालेले राजीनामा मागे पनि उनले संसदको सामना गर्ने बताएका थिए।