काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पदलोलुप नभए पनि जिम्मेवारीबाट पन्छिने सोच नरहेको बताएका छन्।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लड्ने प्रतिज्ञा गरे।
‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर होइन,’ प्रचण्डले भने। उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम बुझाइ कायम गर्नु आवश्यक रहेको पनि बताए।
पछिल्लो समय पार्टीका महासचिव जनार्दन शर्माले प्रचण्डलाई राजीनामा दिन दबाब दिइरहेका थिए। त्यसको जवाफस्वरूप प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।
आजको केन्द्रीय समितिबाट उक्त प्रस्ताव अनुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी भइरहेको छ।












