काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भनिने दलहरूको अहंकारकै कारण देश आजको जटिल र भयानक परिस्थितिमा पुगेको बताएका छन्।
संविधान दिवसको अवसरमा शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन तत्कालीन अवस्थामा चासो नदेखाउने, तर अहिले आफूलाई ठूला दल भन्न रुचाउनेहरूको अहंकारले नै मुलुक संकटमा धकेलिएको टिप्पणी गरे।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादीले निरन्तर वकालत गर्दै आएको उल्लेख गर्दै, “यो ऐतिहासिक धारणा जेनजी विद्रोहले फेरि एकपटक पुष्टि गरिदिएको छ,” भने।
प्रचण्डका अनुसार संविधान अब पुनर्लेखन वा संशोधन गरेर जनताको चाहना अनुसार प्रत्यक्ष निर्वाचित प्रणालीतर्फ अघि बढ्न सकिने अवस्था बनेको छ। उनले उत्पीडित वर्ग र समुदायलाई अधिकार दिलाउने काममा गर्व गर्नुपर्ने भन्दै, “हीनताबोधमा बाँच्नुपर्ने कुनै कारण छैन,” भने।
त्यस्तै उनले संविधानसभाको नेतृत्व र सुशासनको अभियानलाई भ्रष्टाचारीसँग तुलना गर्नु जनताप्रति विश्वासघात भएको बताए। भदौ २४ गतेको जेनजी आन्दोलनलाई उनले योजनाबद्ध घुसपैठ र विध्वंसको प्रयास भएको आरोपसमेत लगाए।
अन्तरिम सरकार गठन प्रक्रियामा राष्ट्रपतिको भूमिकालाई प्रचण्डले प्रशंसनीय बताए भने प्रधानसेनापतिको भूमिका पनि सकारात्मक रहेको उल्लेख गरे।
उनले तोकिएको मितिमै निर्वाचन गरि जेनजी आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीतर्फ जाने संवैधानिक बाटो खुल्नुपर्ने चाहना व्यक्त गरे।












