विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक भएको बताएका छन्।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार पूर्वराष्ट्रपति तथा उपराष्ट्रपति पुनः सक्रिय राजनीतिमा फर्कनु अस्वाभाविक नहुने जिकिर गरे। “पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू फर्किनु संविधानविपरीत होइन,” प्रचण्डले भने, “त्यसैले यसलाई अस्वभाविक ठान्नु हुँदैन।”
उनले वर्तमान संविधानलाई ‘सर्वोत्कृष्ट’ भने पनि संविधानअनुसार आवश्यक कानुन निर्माणमा ढिलाइ भएकाले कार्यान्वयनमा समस्या देखिएको बताए।
पार्टीभित्रको नेतृत्व विवादबारे प्रश्न सोध्दा अध्यक्ष प्रचण्डले “पार्टी निर्णय र विधि–पद्धति विपरीत कुनै पनि कार्य सह्य हुँदैन” भन्दै स्पष्ट पारे। जनार्दन शर्मा ‘प्रभाकर’ को असहमति देखिँदैमा आन्दोलन कमजोर नहुने उनको भनाइ थियो।
कालापानी–लिपुलेक मुद्दाबारे सोधिएको प्रश्नमा प्रचण्डले छिमेकी मुलुकहरूसँग देखिएको सीमा विवादलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिए।












