काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एक पटक “नयाँ विद्रोह” आवश्यक रहेको बताएका छन्। दोलखाको बोत्ले हत्याकाण्डको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धदेखि वर्तमानसम्मको आफ्ना संघर्षको चर्चा गर्दै प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न फेरि क्रान्तिको तयारीमा लागेको बताएका हुन्।
प्रचण्डले भने, “एकचोटि फेरि क्रान्ति आवश्यक छ। नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ। मेरो प्रतिबद्धता पनि यही हो र यसको तयारी पनि भइरहेको छ।”
उनका अनुसार, पार्टीले चाँडै मध्यपहाडी यात्रामा निस्कन लागेको छ। “हामी शहीद परिवारका घरमा पुग्दैछौं, उनीहरूको दुःख–सुख बुझ्दैछौं र जनतासँग पुनः जोडिँदैछौं,” उनले भने।
कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्ने निर्णय गरे पनि अदालतले रोक लगाएको प्रसंग पनि उठाए।
२०५९ साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस–१, बोत्लेमा सुरक्षा फौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको ज्यान गएको घटनालाई पार्टीले ‘बोत्ले हत्याकाण्ड’का रूपमा स्मरण गर्दै आएको छ। कार्यक्रममा पूर्वमन्त्री विशाल खड्काले उक्त घटनाको स्मृतिमा क्रान्तिको प्रतिबद्धता दोहोरिनु ऐतिहासिक सन्देश भएको बताए।
पछिल्लो समय अध्यक्ष प्रचण्डको यस किसिमको अभिव्यक्तिलाई राजनीतिक वृत्तले गम्भीर रुपमा लिएको देखिन्छ। विशेष गरी संघीय सरकारमा माओवादीको भूमिकाले अपेक्षाअनुसार परिवर्तन नल्याएको आलोचनाबीच प्रचण्डले पुनः ‘क्रान्तिको बाटो’ रोज्ने सङ्केत गर्नु चर्चाको विषय बनेको छ।












