काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको आरोप लगाएका छन्।
पेरिसडाँडामा आयोजित वाइसिएल केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधेयकमा “चलखेल र छेडखानी” भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरे।
“परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ,” प्रचण्डले भने, “संघीय निजामति सेवा विधेयकमा पनि षड्यन्त्र भएको देखिएको छ। कसले बदमासी गर्यो, त्यसको छानबिन गरी कारबाही गर्नुपर्छ।”
प्रचण्डले जनताको त्याग–तपस्याबाट प्राप्त संविधान र परिवर्तनमाथि पटक–पटक हमला हुन खोजिएको भन्दै त्यसविरुद्ध प्रतिवादको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए। “यथास्थिति र प्रतिगमनलाई उल्ट्याउने प्रयास जारी छ,” उनले भने, “हामी फेरि प्रतिवादमै छौं।”












