काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा वीरेन्द्रलाई ‘लोकतान्त्रिक’ र ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ भनेर टिप्पणी गरेका छन् ।
वीरेन्द्रप्रति सिंगो माओवादी आन्दोलन र आफ्नो पनि सकारात्मक धारणा बनेको बताउँदै प्रचण्डले भनेका छन्, ‘वीरेन्द्रले केही न केही डेमोक्रेटिक ढंगले सोच्छन् भन्ने खालको बुझाइ बनेको थियो ।’
तर ज्ञानेन्द्रले निरंकुश राजतन्त्र फर्काउन ८६ वर्षे वयोवृद्ध नवराज सुवेदीलाई आन्दोलनको नेतृत्व गर्न भनेर दुःख दिएको प्रचण्डले बताए ।
हिमालय टेलिभिजनको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, ‘ज्ञानेन्द्रको बुद्धि के छ भने नवराज सुवेदी खोजेर, विचरा त्यो ८६ वर्षको बुढालाई दुःख दिने गरी ल्याउने । यसबाट हाम्रो ज्ञानेन्द्र जीको बुद्धि के छ भन्ने देखियो ।’
८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् ।
विगतमा ज्ञानेन्द्र शाहले दलहरुलाई दबाउन तुलसी गिरी र कीर्तिनिधि विष्ट रोजेको र अहिले सुवेदीलाई खोजेको प्रचण्डले टिप्पणी गरे । तर वीरेन्द्रमा केही न केही लोकतान्त्रिक भावना पाएको उनले बताएका छन् ।