काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रभु बैंक कर्पाेरेट तथा प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डंगोललाई बैंकिङ कसूरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
प्रहरीका अनुसार बैंकिङ कसूर मुद्दामा प्रतिवादी बैंकका तत्कालीन सिइओ अशोक शेरचन समेतमाथि भइरहेको अनुसन्धानका क्रममा संकलन भएका तथ्य, प्रमाण तथा विज्ञ टोलीको अध्ययन–विश्लेषणबाट ललितपुर महानगरपालिका–२७ का ५० वर्षीय दिनेश डंगोलको संलग्नता देखिएको हो।
अनुसन्धानबाट नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित कानुनविपरीत कार्य गर्दै प्रभु मेनेजमेन्ट लगायतमा प्रवाह भएको कर्जा दुरुपयोग गर्ने, गराउने काममा उनको भूमिका रहेको आरोप लगाइएको छ।
यस आधारमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी गरिएको थियो। प्रहरीले उनलाई सोमबार काठमाडौं महानगरपालिका–११ थापाथलीबाट पक्राउ गरेको जनाएको छ।
हाल अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिआइबीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले बताए।












