काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन भएका छन्। बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो। उनी पब्लिक शेयरहोल्डरको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए।
सोही बैठकले स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। अध्यक्ष र स्वतन्त्र सञ्चालक मनोनयनसँगै प्रभु बैंकको सात सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ।
लामो समय सरकारी सेवामा अनुभव बटुलेका कार्की २०३९ सालदेखि सरकारी सेवामा सक्रिय थिए। सहसचिवको रूपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सूचना तथा सञ्चार मन्त्रालय लगायत विभिन्न निकायमा काम गरेका उनले २०७७ वैशाखमा अनिवार्य अवकाश पाएका थिए।
त्यस्तै, स्वतन्त्र सञ्चालकमा नियुक्त अर्याल बैंकिङ क्षेत्रका अनुभवी व्यक्तित्व हुन्। स्ट्यान्डर्ड चार्टर्ड हुँदै कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत भइसकेका अर्यालसँग बैंकिङ, शिक्षा तथा अडिट क्षेत्रमा पनि कार्य अनुभव छ। बैंकले नयाँ नेतृत्वसँगै रणनीतिक सुधार र स्थायित्वमा थप योगदान पुग्ने विश्वास लिएको जनाएको छ।












