काठमाडौं । काठमाडौं वायु प्रदूषणका हिसाबले विश्वकै अग्रपंक्तिमा छ । काठमाडौं उपत्यकाका मानिसहरूमा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लगायत जटिल समस्या देखिएको छ । यसैबीच बिहीबारसरकारले वातावरण प्रदूषण घटाउनेबारे विज्ञसँग छलफल गरेका छन् ।
छलफलमा वन मन्त्रालयले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने, सवारी जोर बिजोर गरेर चलाउनु पर्ने लगायतका सुझाव पेश गरेका छन् । त्यसो त विज्ञहरुले प्रदुषणको प्रमुख कारण सवारी साधन रहेको दाबी गर्दै केहिदिन चाप कम गर्नुपर्ने सुझाव दिएका थिए ।
वातावरण विज्ञ भूषण तुलाधरले वायु गुणस्तर योजना बनाउनुपर्नेमा जोड दिए । डढेलो विज्ञ शुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनु पर्ने सुझाव दिए ।
डा.तुलाधारले काठमाडौँ उपत्यकाका शंकपार्क र रत्नपार्कमा आईक्यूएयरको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा भएकाले मानव स्वास्थ्यका लागि अत्याधिक घातक भएको बताए ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए । राट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिले सार्वजनिक सवारी साधनले नभएर करिब २ लाख निजी मोटरसाइकलले बढी प्रदूषण गरेको हुँदा त्यसलाई कम गरेर सार्वजनिक सवारी साधनलाई प्राथामिकता दिनुपर्ने सुझाव दिएका थिए ।
छलफलमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारी उपस्थित रहेको थियो ।












