काठमाडौँ। प्रतिनिधिसभामा उपसभामुख चयन प्रक्रियाले राजनीतिक समीकरण मात्रै होइन, दलहरूबीचको विश्वासको स्तरसमेत उजागर गरेको छ। राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले संसद् बैठकमै रास्वपामाथि ‘धोका’ दिएको आरोप लगाएपछि नयाँपुराना दलबीचको सम्बन्धमा चिसोपना देखिएको छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि सरस्वती लामाको प्रस्ताव शाहीले रास्वपाबाट आश्वासन पाएरै उम्मेदवारी दिएको दाबी गरे। तर, अन्तिम घडीमा अपेक्षित समर्थन नपाउँदा आफू ‘राजनीतिक यथार्थ’ बुझ्न बाध्य भएको उनको भनाइ थियो।
शाहीका अनुसार रास्वपा सभापति रवि लामिछाने सँगको छलफलपछि जनजाति समुदायबाट उम्मेदवार उठाउने निर्णय गरिएको थियो। ‘सबैभन्दा ठूलो दलबाटै प्रस्ताव आएपछि सम्भावित ध्रुवीकरणलाई ध्यानमा राख्दै हामी अघि बढ्यौं,’ उनले भने, ‘तर राजनीतिमा आश्वासनभन्दा संकेत बुझ्नुपर्ने रहेछ भन्ने पाठ सिकियो।’
उनले संसद्मा दिएको अभिव्यक्तिमा ‘युद्ध र प्रेममा सबै जायज हुन्छ भनेझैं राजनीतिमा आश्वासन र धोका पनि जायज रहेछन्’ भन्दै कटाक्ष गरे। शाहीको यो भनाइलाई विश्लेषकहरूले नयाँ दलप्रति बढ्दो अविश्वासको संकेतका रूपमा हेरेका छन्।
रास्वपाको सर्मथनमा भने श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवी ठाकुर उपसभामुख भएकी छन्।












