काठमाडौं । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुवेर खापुङले समाजमा विस्थापित प्रहरीलाई फर्काउने अभियानप्रति आभार प्रकट गरेका छन्।
आइतबार एक भिडियो वक्तव्य जारी गर्दै आइजिपी खापुङले पीडाको घडीमा नागरिक स्वयं अगाडि आएर प्रहरीलाई सहयोग गरेको देख्दा आफू भावुक भएको बताए।
“मुलुकले अकल्पनीय र अपूरणीय क्षति व्यहोरेको छ। यसले हामी सबैलाई पीडा बोध गराएको छ,” उनले भने, “घटनाक्रमले नेपाल प्रहरी अत्यधिक प्रभावित हुन पुगेको छ। हाम्रा प्रहरी कार्यालयहरू जलेर ध्वस्त भएका छन्। सवारी साधन, पोसाकलगायत धेरै सामग्री नष्ट भएका छन्, हराएका छन्। जसका कारण नियमित काम–कारबाहीमा फर्कन कठिनाइ भइरहेको छ।”
समाजको सहयोगप्रति प्रशंसा
यस विषम परिस्थितिमा समुदायले प्रहरीलाई कार्यालयमा फर्काउने अभियान स्वतःस्फूर्त सुरु गरेको भन्दै उनले विशेष प्रशंसा गरे।
“सहृदयका साथ देखाइएको अपनत्वले मलाई ज्यादै भावुक बनाएको छ। तपाईँहरूको सत्कर्मले मलाई गौरव बोध गराएको छ,” आइजिपी खापुङले भने।
उनका अनुसार यो अभियानले प्रहरीलाई विस्थापित गर्न खोज्नेहरू वास्तवमा अपराधी मात्र हुन् भन्ने विश्वासलाई अझ दृढ पारेको छ। “फुटेका सिसा, जलेका सामग्री र भत्किएका पर्खाल हटाउन गाह्रो नमानी योगदान पुर्याउनुभएको छ,” उनले भने।
‘प्रहरी हाम्रा लागि हो’
समाजमा “प्रहरी हाम्रा लागि हो” भन्ने भावना पुनः जागृत भएकोमा उनले उच्च सम्मान व्यक्त गरे। साथै पूर्व प्रहरी अधिकृत, स्थानीय नागरिक, टोल सुधार समिति, स्थानीय तह, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायत सबैबाट रचनात्मक सहयोग हुने विश्वास व्यक्त गरे।
“संकटको यस घडीमा वैमनस्यता र बदला भावलाई थाँती राखेर मुलुकको एकता, सहृदयता र भातृत्वका साथ देशभर शान्ति, सुरक्षा र अमन चयन कायम राख्न सबैको सक्रिय र सकारात्मक भूमिका हुने विश्वास लिएको छु,” उनले जोड दिए।












