काठमाडौं । वर्षायामसँगै गाईभैँसीलगायत चौपायामा विभिन्न प्रकारका रोगको संक्रमण फैलिने जोखिम बढेकाले पशु सेवा विभागले किसानहरूलाई सतर्क रहन आग्रह गरेको छ।
विभागले साप्ताहिक बुलेटिन जारी गर्दै वर्षाको समयमा पशुहरूको खुट्टाको कापतिर घाउ हुने, औंसा पाक्ने, खुर कुहिने जस्ता समस्या देखिन सक्ने भएकाले समयमै पशुको हिँडडुल, चाल आदिको नियमित निरीक्षण गर्न र आवश्यक परेमा तुरुन्त भेटेनरी प्राविधिकसँग सम्पर्क गर्न सुझाव दिएको हो।
हाल देशका विभिन्न स्थानमा गाईभैँसीमा लम्पी स्किन रोग देखिन थालेको जनाउँदै विभागले रोग लाग्नुअघि नै जैविक सुरक्षाका उपायहरू अपनाउन र उपलब्ध खोप लगाउन आग्रह गरेको छ।
लहुमुते रोग किर्नाको टोकाइबाट सर्ने भएकाले किसानलाई बुटक्स २ एमएल प्रतिलिटर पानीमा मिसाई किर्ना भएको स्थानमा हप्तामा दुईपटक चार हप्तासम्म स्प्रे गर्न विभागको सुझाव छ। यसबाहेक, शंखेकीरा प्रकोप भएको पानी जमेको ठाउँमा पशु चराउन लैजान नहुने, त्यस्ता क्षेत्रको घाँस ओइलाएरमात्र खुवाउनुपर्ने जनाइएको छ।
वर्षायाममा पशुको दाना ओसबाट बचाउन त्रिपाल वा प्लास्टिकको प्रयोग गरी जमिनभन्दा माथि राख्न, र फार्म परिसरमा नियमित सरसफाइ गरी लामखुट्टे, झिँगा, किर्ना, भुसुना आदि कीराको संख्या कम गर्ने उपाय अपनाउन विभागले आग्रह गरेको छ।
रोगबाट बच्न अपनाउनुपर्ने उपायहरू:
१. गोठभित्र वा बाहिर ब्लिचिङ पाउडर, फर्मालिन, ग्लुटरअल्डिहाइट आदि रसायन प्रयोग गरी संक्रमणमुक्त बनाउने।
२. रोगको शंका लागेका पशु छुट्याएर राख्ने।
३. मरेका पशुहरूलाई राम्रोसँग खाडल खनी गाड्ने।
४. रोग देखिएको क्षेत्रबाट पशु ओसारपसार नगर्ने।
५. पशु सार्दा अनिवार्य भेटेनरी स्वास्थ्य प्रमाणपत्र लिने।
६. फार्म प्रवेशद्वारमा रसायनयुक्त फुटपाथको व्यवस्था गर्ने।
७. नयाँ पशु ल्याउँदा २८ दिनसम्म छुट्टै राखी रोगको लक्षण नदेखिएपछि मात्र बथानमा मिसाउने।
पशु सेवा विभागले समयमै सावधानी अपनाएमा रोगको संक्रमणबाट गाईभैँसीलगायत चौपायालाई बचाउन सकिने भएकाले सबै किसानलाई सचेत हुन आह्वान गरेको छ।












