काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। विहीबार आयोगले विशेष अदालत काठमाडौंमा यादव र उनकी पत्नी आशा कुमारी यादवलाई प्रतिवादी बनाई आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नीको नाममा राखेको देखिएको छ। आयोगले यसलाई सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत गर्ने प्रयोजनार्थ मुद्दा दायर गरेको हो।
अनुसन्धान अनुसार यादवको नियुक्ति भएको मिति २०६६ जेठ २४ देखि २०७९ साउन २९ सम्मको अवधिमा उनले र उनका परिवारका सदस्यहरूले कूल २ करोड ६८ लाख १८ हजार ९ सय ७२ रुपैयाँ आर्जन गरेको देखिएको छ। सोही अवधिमा खर्च र बैंक मौजदात समेत गर्दा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा खर्च तथा लगानी भएको थियो।
यस आधारमा ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको ठहर गर्दै अख्तियारले उक्त रकम विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।












