काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीमाथि जथाभावी गालीगलौज गर्ने एकजना प्राध्यापकले माफी मागेकी छिन् ।
आफूलाई उक्त कलेजको प्राध्यापक बताउने मञ्जुशा पाण्डेले आफ्नो फेसबुक पेजमार्फत् माफी मागेकी हुन् ।
‘यो भिडिओ म गत १६ फेब्रुअरीको रात भएको घटनामा मैले बोलेका कुराहरूप्रति क्षमायाचना गर्न बनाइरहेकी छु । त्यसबेला मैले दिएको अभिव्यक्ति मेरो व्यक्तिगत थिए । यसमा किट युनिभर्सिटीका कुनै पनि अधिकारीको संलग्नता छैन । मेरो अभिव्यक्तिले मेरा नेपाली विद्यार्थी र नेपाली जनताको भावनामा चोट लाग्न गएकोमा म गम्भीर क्षमायाचना गर्छु,’ उनले भनेकी छन् ।