काठमाडौं । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेल चोकबाट ६ जनालाई पक्राउ गरेको छ।
पुस १६ गते राति करिब ९ः३० बजे प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाबाट एक हजार दरका नक्कली नोट ९३ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानका बासिन्दासहित काठमाडौंमा बसोबास गर्दै आएका व्यक्तिहरू रहेका छन्। पक्राउ परेका व्यक्तिहरूको विवरण यस प्रकार रहेको छः
सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ घर भई हाल काठमाडौं शंखरापुर नगरपालिका–४ साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, उही ठेगाना घर भई उही स्थानमा बस्ने ४४ वर्षीय पासाङ शेर्पा, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल साँखु बस्ने ३२ वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई शंखरापुर नगरपालिका–६ बस्ने ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ घर भई शंखरापुर नगरपालिका–६ बस्ने ६५ वर्षीय गोकर्ण थापा, र काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सुकबहादुर स्याङ्बो रहेका छन्। पक्राउ परेकामाथि नक्कली नोटको कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।












