काठमाडौं । काठमाडौंको गौशालास्थित तिलगंगाबाट अवैध हतियारसहित दुई युवक पक्राउ परेका छन्। प्रहरी वृत्त गौशालाको टोलीले सोमबार दिउँसो २ बजे तिलगंगास्थित डेराबाट कटुवा पेस्तोल र म्यागजिनसहित महोत्तरीका सुरेशकुमार राम (२९) र दिनेशकुमार राम (२६) लाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र गौशाला वृत्तबाट खटिएको टोलीले उनीहरू बस्दै आएको घरमा छापा मार्दा, कोठामा किटक्याट लेखिएको बट्टाभित्र लुकाइएको अवस्थामा १ थान कटुवा पिस्तोल र २ थान म्यागजिन बरामद गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले अवैध हतियारको स्रोत र उद्देश्यबारे थप जानकारी संकलन गरिरहेको छ।












