काठमाडौं । काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावका कारण रोकिएका मुद्दा अब छिट्टै अघि बढ्ने दाबी गरेका छन्।
शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निरीक्षण गर्दै उनले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धान फाइल खोलिने जानकारी दिएका हुन्।
मन्त्री अर्यालले सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई निर्देशन दिँदै भने, “राजनीतिक कनेक्सनका आधारमा रोकिएका वा बिथोलिएका मुद्दा अब जस्ताको तस्तै अघि बढ्नेछन्। सुशासन कायम नभएसम्म शान्ति–सुरक्षा सम्भव छैन, र शान्ति–सुरक्षा नभए आगामी ६ महिनाभित्र चुनाव पनि सम्भव हुँदैन।”
सीआईबीमा अनुसन्धान भइरहेका मुद्दाको प्रगतिबारे जानकारी लिँदै उनले तीव्रता दिन निर्देशन दिएका छन्। उनले राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइलहरू खुलाउने र कुनै पनि अनुसन्धानमा बाह्य प्रभाव नपर्ने सुनिश्चितता दिएका छन्।
अर्यालले सुशासन कायम गर्नु पहिलो प्राथमिकता भएको औँल्याउँदै भने, “अघिल्लो सरकार र जनप्रतिनिधिहरूले सुशासन दिन नसकेका कारण भूमिका कमजोर भएको थियो। अब त्यस्तो दोहोरिन दिन सकिँदैन।”
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरेका तत्कालीन एसएसपी डा. मनोज केसी अहिले सीआईबी प्रमुख बनेका छन्। अघिल्लो सरकारले उनलाई प्रदेश समन्वय विभागमा थन्क्याएको भए पनि नयाँ सरकारले ठूला मुद्दा अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएको छ।












