काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका नाममा हत्या, हिंसा र ध्वंसात्मक क्रियाकलाप भएको आरोप लगाएका छन्।
आगलागीबाट क्षतिग्रस्त बालकोटस्थित आफ्नै निवासको अवलोकन गर्दै उनले शान्ति क्षेत्रका रूपमा चिनिएका विद्यार्थीहरूलाई समेत आन्दोलनमा दुरुपयोग गरिएको बताए।
ओलीले भने, “जेनजीका नाममा देशभर लुटपाट, आगजनी र हिंसा मच्चाइयो। शान्तिका कुरा गर्नेहरूकै नेतृत्वमा यस्तो गतिविधि हुँदा देशले ठूलो क्षति बेहोर्नु परेको छ।”
उनका अनुसार, लुटपाट गर्नेहरू विदेशबाट आएका होइनन्, देशकै भित्रका व्यक्ति हुन्। “उनीहरूमध्ये कतिपयको पहिचान भइसकेको छ र पहिचान गर्ने क्रम जारी छ, तर सरकारले उनीहरूविरुद्ध कारबाही गर्न कुनै तयारी देखाएको छैन,” ओलीले भने।
सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले थपे, “लुटपाट, आगजनी र त्यसको पक्षमा सरकारकै मनोभाव देखिन्छ। जसको क्षति भएको छ, जसलाई पीडा परेको छ, त्यहीमाथि सरकार दुस्मनी साँध्दैछ। मलाई सरकारमाथि गम्भीर आशंका छ।”
अध्यक्ष ओलीले देशमा एमाले रहँदासम्म अपराध, भ्रष्टाचार, अनियमितता र कानुनविहीनता जरा गाड्न नसक्ने दाबी गरे। उनले अपराध गर्ने र हिंसा मच्चाउनेहरूलाई कानुनी कारबाही गर्नुपर्ने भन्दै पीडितहरूले न्याय पाउनैपर्ने जोड दिए।
उनले भने, “ध्वंस मच्चाउने, घरका सामान लुट्ने र निर्दोष नागरिकलाई पीडा दिने कसैलाई पनि उम्किन दिइने छैन। एमालेले अपराधीलाई कारबाही गराएरै छाड्नेछ।”












