काठमाडौं। मध्यपूर्वमा जारी तनावका कारण पेट्रोलियम पदार्थको अभाव हुनसक्ने भन्दै हल्ला चलिरहेका बेला नेपाल आयल निगमले सहज आयात र बिक्री वितरण भइरहेको बताएको छ। र, अनावश्यक स्टोर नगर्न उपभोक्तालाई आग्रह पनि गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको छ। ‘अनावश्यक स्टोर गरेर जोखिम नबढाउन अनुरोध छ,’ उनले भने, ‘आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ।’
पेट्रोलियम पदार्थ ड्रम वा क्यानमा स्टोर गर्दा जोखिम बढ्ने उनको भनाइ छ। उनका अुनसार पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जर्किन, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्येनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको हो।












