काठमाडौं। नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध गराएको डाटा प्याकेज सकिँदा ब्यालेन्स नकाटिने सुविधा ल्याएको छ।
यसअघि डाटा प्याक सकिएपनि स्वतः मेन ब्यालेन्सबाट डाटा सक्रिय हुँदै आएको थियो। तर, अब डाटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स काटिने छैन्। तर, यसका लागि सेवाग्राहीेले सुविधा सक्रिय गर्नुपर्नेछ।
टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले प्याकेज खरिद गरेर वा प्याकेज खरिद नगरेर नियमित शुल्क भुक्तानी गरी प्रयोग गरिरहेकामा अब प्याकेज खरिद गरेका ग्राहकहरुले आफै सुविधा सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसका लागि ग्राहकले आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्नेछ। त्यसपछि ४ नम्बर छनोट गरे पछि यो सुविधा सक्रिय, निष्क्रिय गर्न र यसको अवस्था थाहा पाउन क्रमशः १, २ र ३ थिच्न सकिन्छ ।
‘नेपाल टेलिकमले ग्राहकहरुको माग बमोजिम विभिन्न प्रकारका आकर्षक डाटा प्याकेज उपलब्ध गराइरहेको छ। डाटा प्याकेज खरिद गरी सेवा उपभोग गर्ने ग्राहकको सन्दर्भमा डाटा भोल्युम ८० प्रतिशत खपत भएको अवस्थामा, डाटा भोल्युम समाप्त भए पश्चात वा डाटा प्याकेजको समयावधि समाप्त भए पश्चात ग्राहकलाई जानकारी दिन एसएमएस पठाउने व्यवस्था मिलाइएकामा अब ९० प्रतिशत खपत भए पश्चात एसएमएस मार्फत जानकारी गराइने छ,’ टेलिकमले विज्ञप्तिमा भनेको छ, ‘डाटा प्याकेजको भोल्युम वा समयावधि समाप्त भए पश्चात ग्राहकहरुले डाटा सेवाको प्रयोग निरन्तर राखेमा मेन ब्यालेन्सबाट डाटा चल्ने र चलेको भोल्युम अनुसार शुल्क काटिने व्यवस्था थियो।’
प्याकेज खरिद गरेका ग्राहकहरुले पेयजी सुविधा पहिले नै निष्क्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि मेन ब्यालेन्सबाट डाटा चल्ने छैन। प्याकेज नलिई डाटा चलाउन आवश्यक भएका ग्राहकहरुले भने यो सुविधा सक्रिय राख्न सक्नेछन्।
‘यसरी डाटा सेवा निरन्तर प्रयोग गर्दा पेयजीमा नजाने व्यवस्थाका लागि विभिन्न माध्यमबाट अनुरोध गरिएको थियो । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२।१२।१३ को निर्णय बमोजिम नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाको बुँदा नम्बर ४ मा समेत ‘निष्क्रिय गर्ने विकल्प दिइने’ भन्ने उल्लेख छ । मन्त्रालयको निर्देशन अनुसार पनि कम्पनीले निष्क्रिय गर्ने विकल्प उपलब्ध गराएको हो,’ विज्ञप्तिमा भनिएको छ।
३० दिनको प्याक
प्रिपेड मोबाइलमा उपलब्ध गराइएका प्याकेजहरुको समयावधि २८ दिनको सट्टा ३० दिन कायम हुनुपर्ने माग भए बमोजिम हाल ‘प्रिपेड कम्बो २९९’ प्याक सञ्चालनमा ल्याइएको जनाइएको छ ।
२९९ रुपैयाँमा उपलब्ध हुने उक्त प्याक प्रयोग गरी सबै नेटवर्कमा ३०० मिनेट कल गर्न, ४ जीबी डाटा चलाउन र कम्पनीको नेटवर्कमा २० वटा एसएमएस पठाउन सकिने भएको छ । आगामी दिनमा ३० दिन समयावधिको अन्य प्याकहरु क्रमशः बनाइने टेलिकमले जनाएको छ।












