काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पच्चिसौँ मौद्रिक नीति सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाबमोजिम यस वर्षदेखि बैंकले मौद्रिक नीति, वार्षिक समीक्षा प्रतिवेदन र समष्टिगत आर्थिक परिदृश्यलाई छुट्टाछुट्टै प्रतिवेदनका रूपमा सार्वजनिक गर्ने नयाँ संरचनाको सुरुवात समेत गरेको छ।
मुलुकको बाह्य आर्थिक अवस्था अनुकूल रहेको र विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा रहेकाले सरकारले राखेको ७.० प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउन राष्ट्र बैंकले ‘सजगतापूर्वक लचिलो’ मौद्रिक कार्यदिशालाई निरन्तरता दिएको छ।
मूल्य वृद्धि र विनिमय सञ्चितिको प्रक्षेपण
बाह्य आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ र खाद्य वस्तुको मूल्य बढ्दा केही महिना मुद्रास्फीतिमा दबाब रहने भए तापनि आगामी आवमा मुद्रास्फीति ५.५ प्रतिशतभित्रै कायम राख्ने प्रक्षेपण राष्ट्र बैंकको छ।
त्यस्तै, कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य राखिएको छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई भने अन्तरिम लक्ष्यको रूपमा यथावत् राखिएको छ।
ब्याजदर र तरलता स्थिति
मौद्रिक नीतिले ब्याजदर करिडोरअन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर र बैंकदरलाई यथावत् राखेको छ भने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ।
राष्ट्र बैंकका अनुसार सरकारको बजेटले सार्वजनिक खर्च विस्तार, आयकर कटौती र आर्थिक सुधारका कार्यक्रमहरू ल्याएकाले समष्टिगत माग वृद्धि भई बैंकहरूमा रहेको तरलता क्रमशः खपत हुँदै जाने अनुमान छ। तर, केही वित्तीय संस्थाहरूमा बढ्दो निष्क्रिय कर्जा र पूँजीकोषमा देखिएको दबाबका कारण सघन अनुगमन आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ।










