काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यूआर कोडमार्फत हुने भुक्तानीमा ठगीका घटना बढ्न थालेको भन्दै कारोबार गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
केन्द्रीय बैंकले मंगलबार वित्तीय सचेतनाका लागि जारी गरेको सूचनामा विद्युतीय माध्यमबाट भुक्तानी कारोबार बढेसँगै क्यूआर भुक्तानी प्रणालीमा पनि ठगीका केही घटना देखिन थालेको उल्लेख गरेको छ। विशेषगरी ग्राहकले देखाएको स्क्रिनसटको आधारमा मात्र भुक्तानी स्वीकार गर्दा ठगीमा पर्न सक्ने जोखिम रहेको राष्ट्र बैंकको चेतावनी छ।
राष्ट्र बैंकका अनुसार देखाइने स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली हुन सक्ने भएकाले त्यसमा मात्रै भर पर्नु जोखिमपूर्ण हुन्छ। यस्तो अवस्थाबाट जोगिनका लागि ग्राहकले भुक्तानी गरेको दाबी गरेपछि स्क्रिनसटमा उल्लेख गरिएको मिति, समय, रकम र खाताको विवरण राम्ररी रुजु गर्नुपर्ने जनाएको छ।












