काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातको सटही सुविधामा संशोधन गरी नयाँ व्यवस्था ल्याएको छ। आइतबार एकीकृत परिपत्र २०८१ संशोधन गर्दै चाँदी आयातमा नयाँ सुविधा प्रदान गर्ने जनाएको हो।
नयाँ व्यवस्थाअनुसार सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा एक पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने भएका छन्।
अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गरे एक पटकमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने छ।
महिनामा एक पटक मात्र आयात गर्ने उद्योग वा व्यवसायीको हकमा उपयुक्त सीमा अमेरिकी डलर बीस लाख (उद्योगको लागि) र अमेरिकी डलर चार लाख (अन्य व्यवसायीको लागि) तोकेको छ।
सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्वसटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नुपर्ने छ।












