काठमाडौं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा तेस्रो जित हात पार्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर्यो।
विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्यो। टोलीका ओपनर डार्सी सर्टले उत्कृष्ट ५७ रनको योगदान दिँदै जितमा महत्वपूर्ण भूमिका खेले।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनायो। लोकेश बमले सर्वाधिक ३५ रन, बसिर अहमदले २८ तथा साम हिजलेटले २७ रन जोडे। लुम्बिनीका शेर मल्लले ३ विकेट लिए।
जितसँगै लुम्बिनीले ६ अंक जोड्दै प्लेअफ अवसर जोगायो। उता, ६ खेलबाट ८ अंक हासिल गरेको विराटनगर पनि अझै प्लेअफ दौडमा प्रतिस्पर्धी छ।












