काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको १८ औँ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार पाँचौँ जित दर्ता गरेको छ। यससँगै सुदूरपश्चिमको प्लेअफ यात्रा झन् पक्का भएको छ।
त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमका इशान पाण्डेले ३५ बलमा ८ चौका र १ छक्कासहित ५६ रनको अर्धशतकीय पारी खेले। उनले विनोद भण्डारीसँग तेस्रो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरे।
विनोद भण्डारीले ४२ रन बनाए भने हर्मित सिंह २५ तथा कप्तान दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे। जनकपुर बोल्ट्सका लागि माज सदाकले २ विकेट र सञ्जय कृष्णमुर्थीले १ विकेट हात पारे।
यसअघि, टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन मात्र बनाउन सक्यो। जनकपुरका सञ्जय कृष्णमुर्थीले ३८ बलमा ५० रन बनाए। निकोल लोफ्टी इटोनले ३९, आदित्य महताले १५, माज सदाकले १२ रन जोडे।
सुदूरपश्चिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। अभिनास बोहोराले ४ विकेट लिए भने स्कट केगुइलिनले ३ र दीपेन्द्र सिंह ऐरीले १ विकेट योगदान दिए।
लगातार पाँच खेल जितेर सुदूरपश्चिम रोयल्स ४ खेलमा ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जनकपुर बोल्ट्स भने यसअघिका कुनै पनि खेल जित्न नसकेर कठिन स्थितिमा रहेको छ।
आइतबार काठमाण्डु गोर्खाज र कर्णाली याक्सबीच अर्को खेल हुने तालिका छ।












