काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइन सट्टेबाजी चलाउँदै आएका आठ भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको हो।
प्रहरीका अनुसार उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेलको नतिजा आधार बनाएर रकम लगानी गर्ने, हार–जित मिलाउनेजस्ता गतिविधि सञ्चालन गर्दै आएको प्रमाण फेला परेको छ।
पक्राउ परेकामा भारतको आन्ध्रप्रदेश, प्रकासम जिल्लाका राजा यदुला (३१), महेश बाबु (३५), पण्डित श्रीनिवासुलु (३०), सेख सोयब (२०), नभिन मड्डेला (३०), महमद रफी सेख (३२), साई कुमार तम्मिसेट्टी (१९) र सेख चन्द बसल (२८) रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल फोन बरामद गरी त्यसबाट प्राविधिक विश्लेषण थालेको जनाएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।












