काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको हो।
चितवनले दिएको १४२ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका लागि गुलबदिन नैब अविजित ४४ रन बनाए। उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे भने कप्तान रोहितकुमार पौडेलले ४४ बलमा ३९ रन जोड्न सफल भए।
ओपनर सन्दीप जोरा २८ रनमा आउट भए भने डीएर्सी सर्टले ११ रन बनाए। दीलिप नाथ १० रनमा रनआउट भए। चितवनका रिजन ढकालले दुई विकेट लिए भने सोहेल तान्विरले एक विकेट हात पारे।
चितवनले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनायो। सुरुवात भने उनीहरूको लागि सहज रहेन। कूल ४३ रनमा तीन विकेट गुमाएपछि कप्तान कुशल मल्ल र रवी बोपराले ४४ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे।
१५.२ ओभरमा टिमको स्कोर ८७ हुँदा मल्ल २१ रनमा आउट भए। रवी बोपरा भने ६६ रनमा आउट भए। अन्य खेलाडीमध्ये देव खनालले १४, दीपक बोहराले १०, सैफ जैबले १५, अर्जुन साउँद अविजित १५ र शाहिल तनवीरले पाँच रन बनाए।
बलिङतर्फ, लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबले समान दुई–दुई विकेट हात पारे।
यस जितसँगै लुम्बिनी लायन्स प्रतियोगितामा अग्रस्थानमा देखिन थालेको छ।












