काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उपनिर्वाचनको मिति घोषणा गरेको हो । २०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बोहरा उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर, उनको गत चैत १९ गते काठमाडौंको ओम अस्पतालमा निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।
निर्वाचन आयोगले अब रिक्त स्थानमा उपनिर्वाचन गरी नयाँ प्रतिनिधि चयन गर्न लागेको हो । आयोगले उपनिर्वाचनका लागि आवश्यक तयारी अघि बढाइसकेको जनाएको छ ।












