काठमाडौं। एनआइसी एसिया बैंकले लिलाम बिक्रीमा राखिने बैंकिङ्ग सम्पत्ति, गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको विस्तृत विवरण अब अनलाइनमार्फत सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको छ। यससँगै बैंकबाट बिक्री हुने जग्गा, घर वा अन्य सम्पत्ति हेर्न शाखा धाउनुपर्ने बाध्यता कम हुने भएको छ।
बैंकले सञ्चालनमा ल्याएको नयाँ अनलाइन पोर्टलमार्फत ग्राहकले लिलाममा रहेका सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र लोकेशनसहित गुगल म्याप जोडिएको विवरण एकै ठाउँमा पाउन सक्नेछन्।
बैंकले प्रकाशन गर्ने लिलाम सूचनामा राखिएको कोड स्क्यान गरेपछि सम्बन्धित पोर्टल खुल्नेछ, जहाँ खरिद गर्न चाहेको सम्पत्तिको विस्तृत जानकारी हेर्न सकिनेछ। यसले लिलामी प्रक्रियालाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
सम्पत्तिबारे थप बुझ्न चाहने ग्राहकका लागि पोर्टलमै म्यासेज बक्स राखिएको छ। त्यसमा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सिधै बैंकसँग जानकारी लिन सकिने सुविधा दिइएको बैंकले जनाएको छ।
बैंकका अनुसार पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलामीयोग्य सम्पत्तिको अद्यावधिक विवरण राखिनेछ, जसबाट सम्भावित खरिदकर्ताले बजारको अवस्थासमेत तुलना गरेर निर्णय लिन सहज हुने विश्वास गरिएको छ।
यो प्रणालीले विशेषगरी रियल इस्टेटमा चासो राख्ने लगानीकर्ता, व्यवसायी र सर्वसाधारणलाई डिजिटल माध्यमबाटै सम्पत्ति छनोट गर्ने अवसर दिने देखिएको छ।












