काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्यका कारण पार्टी नेतृत्व गर्न असमर्थ भएको जनाउँदै वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन्।
श्रेष्ठले शनिबार पोखरा निवासी बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएकी हुन्। पार्टीको विधानअनुसार अध्यक्षले कार्यवाहक अध्यक्ष तोक्न सक्ने प्रावधान रहेको छ।
बास्तोला अध्यक्ष श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीनिकट मानिन्छन्। हालै संरक्षक चौधरीले अध्यक्ष श्रेष्ठप्रति लक्षित गर्दै केन्द्रीय समितिमा जवाफ दिनुपर्ने र भागेर नहिँड्नुपर्ने अभिव्यक्ति दिएका थिए, जसपछि पार्टीभित्रको आन्तरिक तनाव सतहमा आएको थियो।
अध्यक्ष श्रेष्ठ केही समयअघि पोखराको लिचीबारी जग्गा सम्बन्धी घुस प्रकरणमा मुछिएकी थिइन्। सार्वजनिक अडियोमा श्रेष्ठले घुसको प्रस्ताव गर्दै गरेको स्वर रहेको दाबी गरिएको थियो। सो प्रकरणमा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन समेत पुगेकी थिइन्।












