काठमाडौं। सडक भासिएको सात दिनपछि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा २५२ मिटर डाइभर्सन ट्र्याक खोलिएको छ।
तर ट्र्याकलाई सवारी सञ्चालनयोग्य बनाउन ग्रेड मिलाउने, पानी व्यवस्थापन र भित्तो सुरक्षित बनाउने काम बाँकी रहेकाले नियमित सवारी सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने सडक विभागले जनाएको छ।
भोटेकोशी–त्रिशूलीमा आएको बाढीले सडक तलबाट कटान गरेपछि कृष्णभीरको सडक भासिएको थियो। खोलातर्फबाट काम गर्न जोखिमपूर्ण भएपछि भासिएको सडकभन्दा करिब १५ मिटर माथिको भित्तो काटेर वैकल्पिक ट्र्याक निर्माण गरिएको हो।
सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार अहिलेको ट्र्याक निर्माणका मेसिन चलाउन सक्ने अवस्थामा पुगेको छ। समस्या नआए एक साताभित्र दुईतर्फी सवारी सञ्चालन गर्ने लक्ष्य छ।
तत्काल डाइभर्सनमा कालोपत्र नगरी ग्राभेल गरिनेछ। वैकल्पिक रूपमा पारिपट्टिबाट पनि करिब साढे १ किलोमिटर ट्र्याक खोल्ने सम्भावनाबारे अध्ययन भइरहेको विभागले जनाएको छ।












