धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
धनगढीस्थित आफ्नो सरकारी निवास परिसरभित्र हेल्मेट नलगाई मोटरसाइकल चलाएको भिडिओ सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपेका मुख्यमन्त्री शाहलाई बिहीबार ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
मुख्यमन्त्री शाहले हेल्मेट नलगाई बुलेट बाइक चलाएको भिडिओ उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमा सार्वजनिक गरेका थिए। केही समययता स्वास्थ्य समस्याका कारण दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझपख हेल्मेटविना मोटरसाइकलमा हुइँकिएको दृश्य बाहिरिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना र टिकाटिप्पणी भएको थियो ।
भिडिओ सार्वजनिक भएसँगै ट्राफिक प्रहरी अधिकारीहरू मुख्यमन्त्री निवासमै पुगेर चिट काटेका छन् । शाहलाई थमाइएको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गर्दै ५०० रुपैयाँ जरिवाना गरिएको छ।
कानुन सबैका लागि समान हुनुपर्छ : मुख्यमन्त्री शाह
कारबाही भोगेपछि मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरे । उनले नियमअनुसार कारबाही गर्न स्वयं ट्राफिक प्रहरीलाई आग्रह गरेको समेत बताए। ‘म ट्राफिक प्रहरीलाई धन्यवाद दिन्छु । कानुन सबैका लागि समान हुनुपर्छ । ठूला व्यक्तिलाई कानुन नलाग्ने भन्ने हुँदैन । कानुनले गरेको व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्छ,’ उनले भने।
पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै पनि भेदभाव हुन नहुने स्पष्ट पार्दै मुख्यमन्त्री शाहले ट्राफिक नियमको पूर्ण पालना गर्न आम नागरिकलाई समेत आग्रह गरेका छन्।












