काठमाडौँ। काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत कार्यक्रम तथा बजेट आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएको छ। राष्ट्रिय सभा गृहमा बुधबार बसेको नगर सभाको १९ औँ अधिवेशनको चौथो बैठकले उक्त बजेट तथा विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको हो।
यसअघि गत असार ४ गते बसेको बैठकमा महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपियाँको बजेट तथा कार्यक्रम पेश गरेकी थिइन्। पारित बजेटमध्ये महानगरको सञ्चित कोषमा व्ययभार पर्ने २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ र वाह्य व्ययभार हुने ७५ करोड रुपैयाँ रहेको छ।
बैठकमा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयकमाथिको छलफलका क्रममा नगर सभा सदस्यहरूले विभिन्न संशोधन प्रस्ताव तथा सहरी व्यवस्थापनका विषयमा महत्त्वपूर्ण सुझाव पेश गरेका थिए।
पाँच वटा ऐन संशोधनको प्रस्ताव पेश
बैठकमा विधायन समितिका संयोजक एवं वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले विभिन्न ५ वटा ऐन संशोधन सम्बन्धी प्रस्तावहरू पेश गरेका छन्। सभामा जनस्वास्थ्य ऐन, २०८० को पहिलो संशोधन २०८३, शिक्षा ऐन, २०७५ को दोस्रो संशोधन २०८३, विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को पहिलो संशोधन २०८३, विपद व्यवस्थापन ऐन, २०७७ को पहिलो संशोधन २०८३ र कर्मचारी सेवा ऐन, २०७७ को चौथो संशोधन २०८३ पेस भएका हुन्।
पेश गरिएका ऐन संशोधनका विषय तथा अन्य प्रस्तावमाथि विस्तृत छलफल गर्नका लागि नगर सभाको पाँचौँ बैठक आगामी असार २३ गते बोलाइएको छ।












