काठमाडाैं। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। राजदूत माओमिङ शनिबार कोरला नाका हुँदै लोमान्थाङ पुगेका हुन्।
नेपाल–चीनका उत्तरी नाका बाढीपहिरोका कारण अवरुद्ध भइरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उत्तरी नाका सञ्चालनमा ल्याउने पहल भइरहेका बेला राजदूतसहितको टोलीले कोरला नाकाको अवस्था र त्यहाँको समग्र वस्तुस्थितिबारे जानकारी लिने भएको हो।
यसअघि चिनियाँ दूतावासको पहलमा सरकारी अधिकारीसहितको टोलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाकासम्मको सडकमार्गको स्थलगत अवलोकन गरेको थियो। त्यसपछि टोलीले मुस्ताङको कोरला नाकासम्मको अवस्थासमेत अवलोकन गरी कुन नाका सञ्चालनमा ल्याउने भन्ने विषयमा निर्णय हुने बताएको थियो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ राजदूत कोरला नाका हुँदै मुस्ताङ आएको जानकारी दिइन्। उनका अनुसार राजदूतसहितको टोली लोमान्थाङमा बसेको छ।
‘चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,’ शर्माले भनिन्, ‘चिनियाँ राजदूतको सुरक्षा व्यवस्था मिलाइसकेका छौँ, उहाँ कोरलानाकाबाट लोमान्थाङ आएर बस्नुभएको छ।’
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चिनियाँ राजदूत तीनदिने मुस्ताङ भ्रमणका लागि लोमान्थाङ पुगेका हुन्। टोलीमा राजदूतसहित पाँच जना चिनियाँ प्रतिनिधि र नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी छन्।
कोरला नाका हुँदै लोमान्थाङ पुगेको टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको प्रहरी निरीक्षक बस्यालले बताए। उनका अनुसार टोली लोमान्थाङबाट जोमसोम आउने कार्यक्रम छ।
जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीनका सम्बन्धित अधिकारीबीच कोरला नाकासम्बन्धी बैठक बस्ने तयारी छ। कोरला नाकाबाट लोमान्थाङ हुँदै जोमसोम आएपछि बैठकमा सहभागी हुने र त्यसपछि चिनियाँ राजदूत पुनः लोमान्थाङ फर्किने कार्यतालिका रहेको बताइएको छ।
भ्रमणको तेस्रो तथा अन्तिम दिन राजदूत माओमिङ लोमान्थाङबाट कोरला नाका हुँदै चीन फर्किने कार्यक्रम रहेको छ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाका हुँदै चिनियाँ राजदूतको उच्चस्तरीय भ्रमण पहिलोपटक भएको हो। उनका अनुसार कोरला नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउने तथा नाकाको समग्र वस्तुस्थितिबारे अनुगमन गर्न राजदूत मुस्ताङ आएका हुन्।
गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द छ। त्यस्तै, उत्तरी चीनसँग जोडिएको तातोपानी नाका पनि बन्द अवस्थामा छ। दुवै प्रमुख उत्तरी नाका अवरुद्ध रहेका बेला चिनियाँ राजदूतसहितको टोलीले कोरला नाकाको स्थलगत अवस्था बुझ्न मुस्ताङ भ्रमण गरेकाले यसलाई नाका सञ्चालनसँग जोडेर हेरिएको छ।












