काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण नेपाल विद्युत प्राधिकरण तथा उसका सहायक कम्पनीका विद्युतीय संरचनामा प्रारम्भिक अनुमानअनुसार ७४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ।
प्राधिकरणका अनुसार बाढीपहिरोका कारण विभिन्न जलविद्युत आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेपछि ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको छ।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पछिल्लो वर्षाका कारण माथिल्लो त्रिशूली–३ बी २२० केभी हबसहितका संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
कालिगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डका २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा समेत क्षति पुगेको छ। राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट र डक्टमा क्षति हुनुका साथै टरबाइन फ्लोरमा पानी पसेको छ। यसको मर्मत गरी विद्युत उत्पादन सुरु गर्न करिब १० दिन लाग्ने प्राधिकरणको अनुमान छ।
प्राधिकरणका अनुसार म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन र रुकुमपूर्वमा विद्युत सेवा सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा सोमबार अपराह्नसम्म तथा मनाङमा मंगलबारसम्म विद्युत सेवा सुचारु गर्ने लक्ष्य राखिएको छ।
यसैबीच, आगामी सुखायाममा विद्युत आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणले १ हजार २१८ मेगावाट आन्तरिक उत्पादन र १ हजार १५४.८० मेगावाट विद्युत आयात गर्ने योजना बनाएको छ। यसबाट कुल उपलब्ध क्षमता २ हजार ३७२.७७ मेगावाट पुग्ने अनुमान छ।












