काठमाडौं । भोटेकोशी बाढीका कारण स्थगित भएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पुरस्कार असोज १ गते घोषणा हुने भएको छ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार भदौ १ देखि १५ गतेसम्म र १६ देखि ३१ गतेसम्मका कारोबारलाई छुट्टाछुट्टै चरणमा समेटेर ३३ जना विजेता छनोट गरिनेछ।
पहिलो १५ दिनबाट १५ जना र दोस्रो १६ दिनबाट १६ जना गरी ३१ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन्। दुवै अवधिबाट एक–एकजना गरी दुईजनाले १०-१० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन्।
पुरस्कारमा २५ प्रतिशत कर लाग्ने भएकाले १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कारबाट कर कटाएर एक लाख रुपैयाँ र १० लाखको बम्पर पुरस्कारबाट ७ लाख ५० हजार रुपैयाँ प्राप्त हुनेछ।
पुरस्कारका लागि एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। अनलाइन कारोबार स्वतः प्रणालीमा समावेश हुने र नगद कारोबार गर्नेले बिल पोर्टलमा दर्ता गरी कुपन लिनुपर्ने विभागले जनाएको छ।
यसअघि साउन महिनामा पनि ३३ जना विजेता छनोट भएका थिए।












