काठमाडौं। काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न अन्तरनगर यातायात सञ्जाल विकास गरिने भएको छ। काठमाडौँ महानगरपालिकाले उपत्यकाका स्थानीय तहलाई समेत सहभागी गराएर रात्रिकालीन यातायातको दिगो प्रणाली विकास गर्ने तयारी थालेको हो।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरी रात्रिकालीन यातायातलाई व्यवस्थित र दिगो बनाउने तयारी भइरहेको बताइन्।
काठमाडौं र ललितपुर महानगर तथा चन्द्रानगिरी नगरपालिकाले गत वैशाख १ गतेदेखि साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन सेवाको प्रभाव तथा विस्तारबारे अध्ययन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनको सार प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन् ।
काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तीन महिनाको परीक्षणकालीन सेवाको समीक्षा गरेको थियो।
सातबाट २८ बस पुर्याउने प्रस्ताव
हाल ७ वटा विद्युतीय बसबाट नागढुङ्गा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ गरी दुई रुटमा रात्रिकालीन सेवा सञ्चालन भइरहेको छ। यसलाई विस्तार गरी २८ वटा बस पुर्याउन कार्यदलले सिफारिस गरेको छ।
प्रस्तावित नयाँ रुटमा गोदावरी-बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती-ठमेल र कीर्तिपुर-नेपाल वायुसेवा रुट रहेका छन्।
यी रुटले उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र तथा प्रमुख नाकालाई जोड्ने गरी सेवा विस्तार गर्ने प्रस्ताव गरिएको छ।
घाटा पूर्ति गर्न तीन विकल्प
रात्रिकालीन यातायातलाई आर्थिक रूपमा दिगो बनाउन कार्यदलले तीनवटा विकल्प अघि सारेको छ।
पहिलो विकल्पका रूपमा हालको भाडामा १२ रुपैयाँ थप गरी रात्रिकालीन प्रिमियम भाडा लागू गर्न सकिने सुझाव दिइएको छ। रातिको समयमा कर्मचारीको अतिरिक्त भत्ता तथा प्राविधिक खर्च बढ्ने भएकाले अतिरिक्त भाडा लिन सकिने समितिको निष्कर्ष छ।
दोस्रो विकल्पमा सेवा सञ्चालनबाट हुने कुल घाटाको ५० प्रतिशत रकम उपत्यकाका आठ नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको आकार, जनघनत्व तथा सञ्चालन दूरीका आधारमा बाँडफाँड गर्ने भाइबिलिटी ग्याप फन्डिङ मोडल प्रस्ताव गरिएको छ।
तेस्रो विकल्पमा यात्रुले बसको वास्तविक अवस्थिति तथा समयतालिका हेर्न सक्ने प्रविधि जडान गर्ने, सेवाप्रतिको विश्वास बढाउने कार्यक्रम सञ्चालन गर्ने र त्यसबाट लागत जुटाउने प्रस्ताव गरिएको छ।
महिला, ज्येष्ठ नागरिक र पर्यटकको सुरक्षामा जोड
प्रतिवेदनले रात्रिकालीन यातायातमा महिला, ज्येष्ठ नागरिक र पर्यटकको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
यसका लागि बसभित्र सीसीटीभी क्यामरा, जीपीएस ट्रयाकिङ तथा ‘डेडिकेटेड’ बस स्टपको व्यवस्था गर्न सुझाव दिइएको छ।
रात्रिकालीन यातायातलाई काठमाडौं महानगरपालिकासहित ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सक्रिय सहभागितामा विस्तार गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।
उपत्यकाका आठ नगरपालिकालाई समेटेर सेवा विस्तार गर्न सके रात्रिकालीन अर्थतन्त्र चलायमान हुनुका साथै निजी सवारीसाधनमाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ।
प्रतिवेदनले संघीय राजधानीको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ मार्फत रात्रिकालीन सेवाको नियमन तथा सुशासन कायम गर्न सकिने पनि सुझाव दिएको छ।
तीन महिनामा ६६ हजारभन्दा बढी यात्रु
प्रतिवेदनअनुसार वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा रात्रिकालीन सार्वजनिक यातायातबाट ६६ हजार ९५२ यात्रुले सेवा लिएका छन्।
हाल सञ्चालनमा रहेका सातवटा बसमध्ये एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्ने गरेको पाइएको छ। यसबाट प्रतिबस दैनिक औसत ३ हजार १३४ रुपैयाँ आम्दानी हुने गरेको छ भने एउटा बसको दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपैयाँ रहेको छ।
यस हिसाबले रात्रिकालीन सेवामा एउटा बसबाट दैनिक १ हजार ६९० रुपैयाँ घाटा भइरहेको प्रतिवेदनले देखाएको छ। यो सञ्चालन लागतको तुलनामा करिब ३५ प्रतिशत हो।
यद्यपि, यात्रुको चाप र सेवाको मागलाई हेर्दा रात्रिकालीन यातायातको आवश्यकता रहेको प्रतिवेदनले औँल्याएको छ।
राति ८ देखि ९ बजेसम्म बढी चाप
अध्ययनअनुसार रात्रिकालीन यातायातमा सबैभन्दा बढी यात्रुको चाप राति ८ बजेदेखि ९ बजेसम्म हुने गरेको छ। उक्त समयमा कुल यात्रुमध्ये ४१.५६ प्रतिशतले सेवा लिएका छन्।
कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू रात्रिकालीन बसका प्रमुख यात्रु रहेको अध्ययनले देखाएको छ।
रुटगत रूपमा हेर्दा थानकोट–एयरपोर्ट रुटमा ५१.५५ प्रतिशत र बुढानीलकण्ठ–लगनखेल रुटमा ४८.४५ प्रतिशत यात्रुको भार रहेको छ।
रात्रिकालीन बस प्रयोग गर्ने यात्रुमध्ये ४७ प्रतिशतले पाँच किलोमिटरभित्रको छोटो दूरी यात्रा गर्ने गरेका छन्। ३२ प्रतिशतले मध्यम र २१ प्रतिशतले लामो दूरीको यात्रा गर्ने गरेका छन्।
हाल छोटो दूरीको भाडा २० रुपैयाँ, मध्यम दूरीको २५ रुपैयाँ र लामो दूरीको ३० रुपैयाँ कायम छ।












