काठमाडौं। नेपाल राष्ट्र बैंकले साविककै आकारमा रङ तथा सुरक्षण प्रणालीमा परिवर्तन गरिएको एक हजार रुपैयाँ दरको नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ। बिहीबारदेखि प्रचलनमा आएको नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ।
राष्ट्र बैंकका अनुसार ट९२–०००००१ देखि त५०–९९९९९९ सम्मका संकेत नम्बर भएका नोट प्रचलनमा ल्याइएका हुन्। नयाँ नोटमा नक्कली नोट नियन्त्रण तथा सहज पहिचानका लागि विभिन्न सुरक्षण विशेषता समेटिएका छन्।
नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप र त्यसको मुनि ‘१०००’ अंक राखिएको छ। दायाँतर्फ निलो रङमा ‘१०००’ को सि थ्रु रजिस्टर राखिएको छ, जसलाई प्रकाशतर्फ हेर्दा पूर्ण अंक देखिन्छ।
दृष्टिविहीन व्यक्तिलाई नोट पहिचान गर्न सहज होस् भनेर तल्लो भागमा एक हजार जनाउने रोमन अक्षर ‘M’ राखिएको छ। सगरमाथाको बायाँ र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखा पनि राखिएका छन्।
त्यस्तै, अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र तथा ३.५ मिलिमिटर चौडाइको चलायमान सुरक्षण धागो राखिएको छ। धागोमा ‘NRB’ र ‘१०००’ अंक छन्।
नोटको पछाडिको भागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली मनीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। सात प्रदेशलाई जनाउने सात लालीगुराँसका चित्र, ‘RUPEES ONE THOUSAND’ लेखाइ र हनुमानढोकाको व्हीचोकस्थित ऐतिहासिक थामको आकृति पनि समेटिएको छ।
नयाँ नोटमा गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत तथा ‘2025 A.D.’ सिरिज उल्लेख गरिएको छ।












