काठमाडौं । सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच प्रायोजन सम्झौता भएको छ ।
यहि मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणको लागि सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच प्रायोजन सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुरुप एनपीएल प्रतियोगितामा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरको रुपमा नेपाल टेलिकम रहनेछ । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सको तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे ।
सम्झौता पछि नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिदैं आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्स मार्फत एनपीएल २०८१ मा जोडिन पाउँदा खुशी लागेको बताइन । एनपीएल २०८१ मार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताको लागि शुभकामना पनि व्यक्त गरिन ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुनेछ। सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी, मेन्टरमा अस्ट्रेलियाका ब्रान्ड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत् टमाटा छन्।
टोलीमा: दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (यूएई)












