काठमाडौं । अमेरिकाको कोलोराडोका दुई स्थानमा नेपाली भाषा पाठशाला सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको संयोजनामा यसवर्ष पनि भाषा पाठशाला सुरु गरिएको हो । २४ मे शनिबारदेखि सुरु भएको भाषा पाठशाला हरेक शनिबार कक्षा दिउँसो २ बजेदेखि ४ बजेसम्म संचालन हुनेछ ।
क्रसरोड कम्युनिटी सेन्टर नर्थग्लेनमा वेस्टमिनिस्टर स्कूल र स्मोकी हिल यूनाइटेड चर्चमा अरोरा स्कूलमा भाषा पाठशाला सुरु हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले जानकारी दिए । हाल नर्थग्लेनको पाठशालामा ३७ जना र अरोरामा २७ भर्ना भएका छन् ।
विगतामा झैं यो गर्मी बिदामा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न र बोल्न सिकाउनका लागि भाषा पाठशालामा भर्ना गराउन सम्पूर्ण कोलोराडोवासी नेपालीहरुलाई अनुरोध गरिएको छ ।
अरोरा पाठशाला अनेसासका सचिब परिवेश शर्मा, राजु खनाल, राजेन्द्र सिग्देलको उपस्थितिमा रिवन काटी उद्घाटन गरिएको थियो भने नर्थग्लेनमा अनेसासका केन्द्रीय महासचिव राजु सिटौला, बिजयदेव अधिकारी, बिजयराज शर्माका साथै बिगत ४ बर्षदेखि निरन्तर भोलेन्टियर गर्ने गुरुमाहरु घन पौडेल, रन्जु आचार्य, प्रतिभा शर्मा र शिक्षक हरिभक्त आचार्यको उपस्थिति थियो ।
दुबैतिरको कक्षा बालबालिकाबाट नेपाली र अमेरिकन राष्ट्रिय गीतबाट सुरु भएको थियो र कक्षा अर्को हप्तादेखि २–४ बजे सम्म नियमित संचालन गरिने जनाइएको छ ।












