काठमाडौं । काठमाडौँ जिल्ला अदालतले नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोपमा संलग्न तत्कालीन सचिव अर्जुनबहादुर कार्की र पूर्वसहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा छाड्ने आदेश दिएको छ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश रामचन्द्र खड्काको इजलासले बुधबार दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले अर्जुनबहादुर कार्कीलाई ६ लाख रुपैयाँ धरौटीमा र लेखबहादुर कार्कीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
यो प्रकरणमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले पुस २ गते काठमाडौँ जिल्ला अदालतमा अर्जुनबहादुर कार्की, लेखबहादुर कार्की, थामशेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर गरेको थियो।
सीआईबीको अनुसन्धान अनुसार, उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसामा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरे पनि अन्ततः १ अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको पाइयो। यसरी गरिएको सम्झौता नियमसंगत नभएको र ठगी भएको सीआईबीले निष्कर्ष निकालेको थियो।
२०७४ जेठ १४ गते भएको सम्झौतामा भाडा बापत १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँ ६० पैसामा गरी कुल १ अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरिएको थियो।
नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौँ महानगरपालिका–१, दरबारमार्गस्थित कित्ता नं. ४६०६ को १–१४–०–३.५६ क्षेत्रफलको जग्गा ३० वर्षका लागि लिजमा थामशेर्कु ट्रेकिङ प्रालिलाई दिइएको थियो। सम्झौतामा निर्माण अवधि ३ वर्षसमेत तोकिएको थियो।












