काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग ४ विकेटले पराजित भएको छ। यो नेपालका लागि लगातार चौथो हार हो।
बुधबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो। निर्धारित ५० ओभरमा नेपालले नौ विकेट गुमाउँदै २३९ रन बनायो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ र आरिफ शेखले ३० रन बनाए।
युएईका लागि मोहम्मद साहदादले १२३ बलमा ९६ रन बनाए। मोहम्मद वासिमले ७६ र सोहइव खानले २९ रन जोडे। वासिम र साहदादले दोस्रो विकेटका लागि १४० बलमा १४७ रनको साझेदारी गर्दै युएईलाई जित दिलाए।
नेपालका करण केसीले तीन विकेट लिए भने नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल विकेटविहीन रहे।
यो हारपछि नेपाल २० खेलमा १२ अंकसहित आठ टोली सहभागी लिगमा सातौं स्थानमा छ। युएई २० खेलमा १० अंक जोड्दै पछाडि रहेको छ भने अमेरिका २४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा छ। शीर्ष ३ टोलीले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता कायम राख्नेछ।












