काठमाडौं । आइसीसी टी–२० विश्वकप एशिया तथा इष्ट एशिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपाल आज उपाधिका लागि सामोआसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमिरतास्थित ओमान क्रिकेट एकेडेमीमा हुने खेल शुक्रबार अपराह्न सवा ४ बजे सुरु हुनेछ।
नेपालले अहिलेसम्म खेलेका चारै खेलमा जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ। सुपर सिक्स चरणमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै नेपाल आठ अंकसहित तालिकाको शीर्ष स्थानमा उभिएको छ। आजको खेलमा पनि नेपालले जित निकाल्न सके उपाधि पक्का गर्नेछ।
सामोआको तर्फबाट भने प्रदर्शन निराशाजनक रहँदै आएको छ। सुपर सिक्सको कुनै पनि खेल जित्न नसकेको सामोआ तालिकाको पुछारमा पुगेको छ र विश्वकप छनोटबाट बाहिरिसकेको छ। त्यसैले नेपालका लागि आजको प्रतिस्पर्धा औपचारिक रूपमा उपाधि सुनिश्चित गर्ने मौका बनेको छ।
उता, दोस्रो स्थानमा रहेको युएईले सबै पाँच खेल पूरा गरी आठ अंक जोडिसकेको छ। चार खेल खेलेको ओमान छ अंकसहित तेस्रो स्थानमा रहेको छ र उसले आज जापानसँग खेल्दै उपाधि सम्भावना जोगाउने प्रयास गर्नेछ।
नेपालले यसअघि सुपर सिक्समा युएई, हङकङ, चीन र ओमानलाई पराजित गरेको थियो। बलिङ र ब्याटिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्दै नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट फर्म देखाएको छ।
अघिल्ला खेलहरूमा ओपनर आशिफ शेख, कप्तान रोहित पौडेल र कुशल मल्लले प्रभावशाली ब्याटिङ गरेका छन् भने सन्दीप लामिछाने र अविनाश बोहराले बलिङमा दबाब सिर्जना गरेका छन्। यही फर्म दोहोर्याउन सके नेपालले आजको खेलमा सहज जित निकाल्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको विजेताले आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ। त्यसैले आजको सामोआविरुद्धको खेल नेपालका लागि ऐतिहासिक अवसर बन्न सक्नेछ। नेपाली समर्थकहरू यस निर्णायक भिडन्तमा टोलीको विजयी यात्रा निरन्तर रहोस् भन्ने अपेक्षामा छन्।












