काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आफ्नो अपराजित यात्रा कायमै राख्दै उपाधिको नजिक पुगेको छ। बुधबार सम्पन्न खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै लगातार चौथो जित दर्ता गरेको हो।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको प्रतिस्पर्धात्मक योगफल बनायो। ओपनर कुशल भुर्तेलले ५१ बलमा ६९ रनको अर्धशतकिय योगदान दिए। आसिफ शेखले २४, गुल्शन झाले १८ र आदिल आलमले १६ रन थपे। ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए।
जवाफी ब्याटिङमा ओमान २० ओभरमा ९ विकेट गुमाएर ११३ रनमै सीमित रह्यो। ओमानका विनायक शुम्ला १९ बलमा ३२ रनसहित शीर्ष स्कोरर बने भने मोहम्मद नदीमले २५ रन बनाए। नेपालका गुल्शन झाले ३ विकेट, नन्दन यादव र सोमपाल कामीले २–२ विकेट तथा सन्दीप लामिछानेले १ विकेट लिए।
यस जितसँगै नेपाल ४ खेलमा ८ अंक जोडेर तालिकाको शीर्षस्थानमा पुगेको छ। नेपाल र ओमान दुवै टोली यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन्।
नेपालले यसअघि यूएई र कतारलाई पनि पराजित गरेको थियो। अब नेपालले शुक्रबार सामोआसँग अन्तिम खेल खेल्नेछ।












