काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा पाकिस्तान साहिन्ससँग १ रनले पराजित हुँदै सिरिजको समापन गरेको छ।
शुक्रबार डार्विनस्थित मरारा क्रिकेट मैदान टुमा खेलिएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १४४ रन बनायो। कप्तान इरफान खान नटआउट ४२ रनमा रहे, जबकि अब्दुल समदले २६ रनको योगदान दिए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरिले समान २–२ विकेट झारे।
नेपालले दिएको १४५ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा ७ विकेट गुमाएर १४३ रनमा रोकियो। कप्तान पौडेलले ५२ रनको महत्वपूर्ण योगदान गरे, ४४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्रसिंह ऐरि ४१ रनमा रनआउट भए। अन्तिम ओभरमा दुई विकेट गुमाउँदा नेपालले जीत नजिक पुग्दा हार व्यहोर्न पुग्यो।
सिरिजमा नेपालले कुल ६ खेल खेलेको थियो। सुरुवाती ३ खेलमा लगातार हार व्यहोरेको नेपालले पछिल्ला ३ खेलमा भने २ खेल जितेको थियो। नेपालले मेलवर्न रेनेगड्स एकेडेमीलाई ३३ तथा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो। तर, मेलवर्न स्टार्स एकेडेमीसँग ३१ र बंगलादेश एसँग ३२ रनले पराजित भएको थियो।
पाकिस्तानले समूह चरणको ६ खेल सकिँदा ८ अंकसहित दोस्रो स्थान हासिल गरेको छ। शीर्ष स्थानमा सिकागो किंग्स मेन छ, जसले १ खेल बाँकी राख्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
सिरिजको बाँकी खेलमा मेलबर्न स्टार्स र एडिलेड क्रिकेट एकेडेमीले एक–एक खेल खेल्नेछन्। एडिलेड क्रिकेट एकेडेमीले शनिबार बंगलादेश ‘ए’सँग खेल्दै जीत हासिल गरेमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ। मेलबर्न स्टार्सले अस्ट्रेलिया क्यापिटलसँग खेल्दै जितेमा नेट रन रेटका आधारमा दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालका लागि टी–२० आई विश्वकपको तयारीको दृष्टिले यो सिरिज अनुभवात्मक रहेको छ, तर समूह चरणबाटै घर फर्किनु परेको छ।












