काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको चौथो खेलमा नेपालले होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै जितको खाता खोलेको हो।
१ सय ८१ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १६.१ ओभरमै १ सय १४ रनमा अलआउट भयो। नेपालका नन्दन यादव घातक बने, उनले मात्र ५ विकेट झारे। नन्दनले चौथो ओभरमा पहिलो विकेट लिनुका साथै १४औं ओभरमा लगातार दुई विकेट र १५औं ओभरमा थप दुई विकेट लिए।
सन्दीप लामिछाने, रिजन ढकाल, रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट झारे। कप्तान रोहित पौडेलले त इनिङ्सको पहिलो ओभरमै मेडन विकेट लिएर हुरिकेन्सलाई दबाबमा पारेका थिए। १७औं ओभरमा कुशल मल्लको बलमा भिम सार्कीमार्फत भएको रन आउटसँगै नेपालले खेल जितेको हो।
हुरिकेन्सका लागि ब्राड्ली होपले ३१ रन र चार्ली वाकिमले २८ रन जोडे।
यसअघि डार्विनस्थित काजालिस एरिना पामस्र्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पारेको थियो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए भने आशिफ शेखले २९, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ र कप्तान रोहित पौडेलले ९ रन जोडे। लोकेश बमले अन्तिममा ११ बलमा २५ रनको तुफानी इनिङ्स खेले।
हुरिकेन्सका बलर निवेथान राधाकिसनन र रफ म्याकमिलनले समान २ विकेट लिँदा, म्याक्र्युस विन, जेव बेल र ब्राड्ली होपले समान १ विकेट लिए।
यसअघि नेपाल सिरिजको पहिलो खेलमा एनटीएससँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’ टोलीसँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो।












