काठमाडौं। इरान-अमेरिका तथा इजरायलबीच चर्किंदो तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा असर पार्न थालेसँगै नेपाल विद्युत प्राधिकरणले सम्भावित ऊर्जा दबाब सामना गर्न आन्तरिक तयारी तीव्र बनाएको छ।
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति श्रंखला खलबलिएसँगै नेपालमा विद्युत खपत बढेको छ। प्राधिकरणले वितरण प्रणाली सुदृढीकरणको काम अघि बढाएको हो।्
अन्तर्राष्ट्रिय युद्धको प्रभाव प्रत्यक्ष रूपमा नेपालमा महसुस हुन थालेको मुख्य संकेत ऊर्जा उपभोगको ढाँचामा देखिएको छ।
बजारमा एलपी ग्यास अभाव गहिरिन थाले उपभोक्ता विद्युतीय चुलोतर्फ सर्ने सम्भावना उच्च छ भने डिजेल र पेट्रोलको आपूर्ति अस्थिर भए निजी तथा सार्वजनिक सवारी क्षेत्र विद्युतीय सवारीमा झन् बढी निर्भर हुन सक्छ। यसले घरायसी, व्यावसायिक र यातायात क्षेत्रमा एकैसाथ विद्युत माग बढाउने भएकाले वितरण सञ्जालमा अचानक अतिरिक्त दबाब पर्ने प्राधिकरणको आकलन छ।
प्राधिकरणका प्राविधिक अधिकारीहरूका अनुसार यस आर्थिक वर्षभित्र नेपालको विद्युतको पिक माग २८०० मेगावाट पुग्ने अनुमान गरिएको छ, जबकि गत वर्ष अधिकतम माग २६०० मेगावाट मात्रै थियो। अर्थात् एकै वर्षमा करिब २०० मेगावाट अतिरिक्त माग थपिने देखिएको छ। सामान्य मौसमी कारणभन्दा बाहिर गएर अन्तर्राष्ट्रिय युद्धजन्य ऊर्जा संकटका कारण यो माग अझै माथि जान सक्ने चिन्ता प्राधिकरणभित्र छ।
बढ्दो मागका कारण ट्रान्सफर्मरमा ओभरलोड बढ्ने, लाइनमा भोल्टेज असन्तुलन देखिने र विशेषगरी सहरी क्षेत्रमा साना क्षमताका ट्रान्सफर्मर जल्ने जोखिम बढ्न सक्ने भएकाले प्राधिकरणले एकैपटक १२०० वटा नयाँ ट्रान्सफर्मर खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यी ट्रान्सफर्मर २५ केभिएदेखि ५० केभिए क्षमताका हुनेछन्, जुन मुख्यतः स्थानीय वितरण लाइनमा तत्काल प्रतिस्थापन र विस्तारका लागि प्रयोग गरिनेछ।
प्राधिकरण स्रोतका अनुसार केही दिनभित्रै खरिद प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। विशेषगरी काठमाडौं उपत्यका, तीव्र शहरीकरण भइरहेका मधेशका शहर, औद्योगिक करिडोर र विद्युतीय सवारीको प्रयोग तीव्र भएको क्षेत्रमा यी ट्रान्सफर्मर प्राथमिकताका साथ जडान गरिने योजना छ।
यससँगै प्राधिकरणले पुराना तथा क्षतिग्रस्त ट्रान्सफर्मर मर्मत अभियान पनि तीव्र बनाएको छ। हाल काठमाडौं, हेटौँडा, नेपालगन्ज, बुटवल र जनकपुर मा रहेका पाँचवटा मर्मत केन्द्रमार्फत पुराना ट्रान्सफर्मर पुनः सञ्चालनयोग्य बनाइँदै छन्। यसले नयाँ उपकरण आउनुअघि नै आपत्कालीन अवस्थामा तत्काल प्रतिस्थापन गर्न सहज हुने प्राधिकरणको विश्वास छ।
ऊर्जा क्षेत्रका अधिकारीहरूका अनुसार यदि अन्तर्राष्ट्रिय युद्ध लामो समय तानियो भने नेपालले पेट्रोलियम आयातमा थप दबाब भोग्न सक्छ, जसको सीधा असर विद्युत मागमा पर्नेछ। अहिले वर्षायाम नजिकिएकाले उत्पादन पक्ष तुलनात्मक रूपमा सहज भए पनि वितरण पूर्वाधार कमजोर भए समस्या उपभोक्तामै देखिने सम्भावना छ। त्यसैले प्राधिकरणले यसपटक उत्पादनभन्दा वितरण प्रणालीलाई केन्द्रमा राखेर पूर्वतयारी थालेको जनाएको छ।












