काठमाडौं। आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०८३ अनुसार विद्युत् सेवामा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी अन्योल हटाउँदै असार मसान्तसम्म खपत भएको विद्युत्मा भ्याट नलाग्ने स्पष्ट पारेको छ।
विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै २०८३ असार ३२ गतेसम्म खपत भएको विद्युत्को बिल साउन १ गते वा त्यसपछि जारी भए पनि उक्त खपतमा भ्याट नलाग्ने जनाएको हो। विभागका अनुसार भ्याट लागू हुने व्यवस्था साउन १ गतेदेखि मात्रै कार्यान्वयनमा आएको भएकाले त्यसअघिको विद्युत् खपत पुरानै व्यवस्थाअनुसार करमुक्त रहनेछ।
सूचनाअनुसार आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन संशोधन गर्दै अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य उपभोक्ताका लागि १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ।
विभागले अर्को महत्वपूर्ण स्पष्टिकरण पनि दिएको छ। नेपाल विद्युत् प्राधिकरणले स्वीकृत महसुल संरचनाअनुसार असुल गर्ने न्यूनतम चार्ज र डिमान्ड चार्ज पनि विद्युत् सेवाकै हिस्सा भएकाले साउन १ गतेदेखि भएको विद्युत् खपतमा यी शुल्कमा समेत भ्याट लाग्ने जनाएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युत् सेवामा भ्याट लगाउने व्यवस्था गरेपछि बिलिङ मिति र खपत अवधिलाई लिएर उपभोक्ता तथा व्यवसायीबीच अन्योल देखिएको थियो। विभागले सार्वजनिक सूचनामार्फत भ्याट निर्धारणको आधार बिल काटिएको मिति नभई विद्युत् खपत भएको अवधि हुने स्पष्ट पार्दै सबै सरोकारवालालाई द्विविधामा नपर्न आग्रह गरेको छ।












