काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित कोथिना मिठो छ तालिम केन्द्रमा २१ दिने कफी वारिस्ता र बेकरी तालिम लिएकी ग्रीष्मा अधिकारी अब तालिमपछि के गर्ने भन्ने विषयमा चिन्तित छिन् ।
श्रवण क्षमता कम भएकी उनी कान सुन्न सक्दिनन्, तर सांकेतिक भाषामा पूर्ण दक्षता छ । उनले राष्ट्रिय बहिरा महासंघ नेपालले आयोजना गरेको तालिममा पनि सहभागिता जनाएकी छिन् ।

ग्रीष्मा भन्छिन्, ‘अब तालिमसँगै रोजगारीका अवसर मिल्छ भने अझ राम्रो हुन्थ्यो ।’ उनले छोटो अवधिको तालिमले पर्याप्त ज्ञान नदिएको महसुस भएको बताइन् । अझै लामो अवधिको तालिम लिन पाए सीपसँगै थप दक्षता निखारिने उनको बुझाइ छ ।
ग्रीष्मा अधिकारी जस्तै उमेश आचार्य पनि कान सुन्न सक्दैनन् । उनी पनि तालिममा सहभागी भएपछि रोजगारीको अवसरको आशा राखेका छन् । उनी भन्छन्,‘तालिम त लिइयो, तर सिकेको सीपलाई प्रयोगमा ल्याउने अवसरको बाटो पत्ता लगाउन कठिन भयो । समय र लगानी भएको खण्डमा हाम्रो सीपले पूर्णता पाउँथ्यो ।’

श्रवण क्षमता नभएका युवालाई दिगो पर्यटनमार्फत आयआर्जनमा जोड्ने उद्देश्यका साथ कफी वारिस्ता र बेकरी तालिम दिइएको हो । यस परियोजना अन्तर्गत राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल पर्यटन बोर्ड, र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजना तथा कोथिना मिठो छ होटल तालिम केन्द्रको सहकार्यमा २० जना श्रवण क्षमता नभएका युवाले २१ दिने कफी वारिस्ता र बेकरी तालिम लिएका छन् ।
तालिमको समापन सत्रमा यूएनडिपी दिगो पर्यटन परियोजनाका व्यवस्थापक धर्म दवाडीले परियोजनाले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन, क्षमता अभिवृद्धि र उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले भने, ‘हाम्रो परियोजनाले समाजका पिछडिएका वर्ग, महिला, दलित, अपाङ्ग, बहिरा लगायतलाई विभिन्न तालिम प्रदान गरी पर्यटन क्षेत्रमा समावेश गर्ने काम गर्दै आएको छ।’

दवाडीले थपे, ‘हामीले गर्ने कार्यक्रममा शारीरिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई पर्यटनको मुख्यधारमा ल्याउने उपायमा प्राथमिकता दिएका छौं । यसै अन्तर्गत २१ दिने वारिस्ता र बेकरी तालिम सञ्चालन गर्दा बहिरा समुदायका श्रवण क्षमता कम भएका युवालाई आयआर्जन गर्ने वातावरण सिर्जना गर्न सकिनेछ ।’
यूएनडिपीमार्फत हाल तीनवटा राष्ट्रिय पदमार्गको स्तरोन्नति कार्य भइरहेको छ, जसमा अपि सैपाल, मनास्लु र कञ्चनजङ्गाका मार्गहरू पर्दछन् । यस परियोजनाले पर्यटन प्रवर्धनका साथै स्थानीय समुदायका अपाङ्ग र पिछडिएका वर्गलाई मुख्यधारमा ल्याउने उद्देश्य राखेको छ ।
कोथिना मिठो छ तालिम केन्द्रका प्रमुख देवेन्द्र पोखरेलले बहिरा युवालाई तालिमसँगै रोजगारीमा जोड्ने पहल गरिरहेको बताए ।

बहिरा समुदायका लागि छुट्टै रेष्टुरेन्ट सञ्चालनको योजना पनि बनाइरहेको पनि उनले बताए ।
राष्ट्रिय बहिरा महासंघका अध्यक्ष सन्तोष केसीले यूएनडिपी लगायतका संस्थाले बहिरा युवालाई ‘ट्रेकिङ गाइड’, हस्तकला तालिम र बेकरी तालिम प्रदान गरेकोमा खुसी व्यक्त गरे । उनले बहिरा युवालाई तालिमसँगै रोजगारीमा जोड्न पहल गर्न आवश्यक रहेको बताए ।

तालिमकी प्रशिक्षक अनिता घले कपालीले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । बहिरा नारिकको अधिकार, समावेशी र दिगो पर्यटन विकासको आधार भन्ने नाराका साथ आयोजना गरिएको तालिम कात्तिक १९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा सहभागी युवाले सांकेतिक भाषामा तालिम लिँदै कफी वारिस्ता र बेकरी क्षेत्रका व्यावसायिक सीप सिकेका छन् । तालिमले उनीहरूलाई रोजगारयोग्य बनाउने उद्देश्य राखेको छ र स्वरोजगारको अवसरका लागि तयारी गराएको छ ।

उपयुक्त तालिम र अभ्यासका साथ यी युवाले भविष्यमा पर्यटन क्षेत्रमा आयआर्जन गर्न सक्ने विश्वास गरिएको छ । तालिमले उनीहरूलाई व्यावसायिक दक्षता, ग्राहक सेवा, उत्पादन तयारी र बजारसम्बन्धी ज्ञान प्रदान गरेको अनुभव छ । यसले श्रवण क्षमता नभएका व्यक्तिहरुलाई पनि समाजमा आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बन्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।













